Press "Enter" to skip to content

कोरोनाभाइरस कुन सामानमा कति बाँच्छ?

विश्वभर महामारीको रूपमा कोरोना भाइरस फैलिएको छ । भाइरस फैलिएसँगै हामीलाई सामान छुन पनि डराइमर्नु भएको छ । 

संसारभर मानिसले नयाँ अभ्यास सुरू गरेका छन् । यस्ता अभ्यासमा कुहिनोले ढोका खोल्ने, बस वा रेलमा कतै नसमाइ उभिने र कार्यालयमा बिहान आफ्नो टेबुल सफा गर्ने आदि छन्।

कोरोनाभाइरसको सङ्क्रमण धेरै भएका स्थानमा शरीर छोप्ने कपडा लगाएका मानिसले खेलस्थल र सडकहरूमा भाइरस मार्ने औषधि छर्किरहेको देख्न सकिन्छ।

कार्यालय, अस्पताल, पसल र भोजनालयहरूमा सफा गर्ने क्रम बढेको छ।

श्वासप्रश्वाससम्बन्धी अन्य रोगमा जस्तै कोभिड-१९ पनि सङ्क्रमित मानिसले खोक्दा नाक र मुखबाट निस्कने साना थोपाहरूबाट सर्न सक्छ। मानिसले एकपटक खोक्दा लगभग ३,००० थोपा निस्कन्छ।

यी थोपाहरू अन्य मानिस वा लुगा वा वरपरका सतहरूमा अड्कन सक्छन् र केही साना थोपा हावामै रहन पनि सक्छन्।

मानिसले गर्ने दिसामा पनि भाइरस हुनसक्छ र शौचालय गएर राम्रोसँग हात नधुँदा पनि हातबाट अन्य सतहमा सर्न सक्छ।

अमेरिकाको सेन्टर्स फर डीजीज कन्ट्रोल एन्ट प्रीभेन्सन सीडीसीले ‘भाइरस सर्ने प्रमुख माध्यम भाइरस भएको सतह हातले छुने र त्यसपछि त्यो हातले अनुहार छुने कार्य नभएको’ बताएको छ।

सीडीसी, विश्व स्वास्थ्य सङ्गठन र अन्य स्वास्थ्य संस्थाहरूले हात धोइरहनु र छोइरहने स्थानका सतहहरू दैनिक सफा गर्नु कोभिड-१९ बाट बच्नका लागि आवश्यक भएको बताएका छन्।

तर कोभिड-१९ लगाउने SARS-CoV-2 नामक भाइरस मानव शरीर बाहिर कति बाँच्न सक्छ भन्ने कुरा स्पस्ट भएको छैन ।

अन्य कोरोनाभाइरसमाथि गरिएको अध्ययनहरूले ती भाइरसहरू धातु, ग्लास र प्लास्टिकमा नौ दिनसम्म बाँच्न सक्ने देखाएको छ। जाडो स्थानमा कुनै भाइरसहरू २८ दिनसम्म रहन सक्छन्।  

हावामा ३ घन्टा, कागजमा २४ घन्टा र प्लास्टिक स्टिलमा २-३ दिन बाँच्ने

यूएस न्याश्नल इन्स्टीट्यूट अफ हेल्थले विभिन्न खाले सतहमा SARS-CoV-2 कति बाँच्न सक्छ भन्ने अध्ययन गरेको छ।
न्यू इङ्गल्यान्ड जर्नल अफ मेडीसीनमा प्रकाशित उनीहरूको अध्ययनको निष्कर्षमा वायुमा ती भाइरस खोकीका थोपामा तीन घण्टासम्म जीवित रहने देखिएको छ।

तर सो अध्ययनले SARS-CoV-2 भाइरस कागतमा २४ घण्टासम्म एवम् प्लास्टिक र स्टीलको सतहमा २-३ दिनसम्म जीवित रहने देखाएको छ।

यसको अर्थ यो भाइरस ढोकाका चुकुल र ह्यान्डल, ल्यामिनेट गरिएका टेबुल वा कम्प्युटर कीबोर्डहरूमा लामो समय जीवित रहन सक्छ।

तामामा ४ घन्टासम्ममात्र बाँच्ने

अध्ययनकर्ताका अनुसार तामाको सतहमा भने ती भाइरस ४ घण्टा मात्रै बाँच्न सक्ने देखिएको छ।

तर सजिलै उपलब्ध हुने डीस्इन्फेकटरहरूबाट यसलाई छिटै मार्न सकिन्छ। यसका लागि ६२-७१ प्रतिशत अल्कोहल वा ०.५ प्रतिशत हाइड्रोजन प्रेरोक्साइड वा ०.१ प्रतिशत सोडियम हाइपोक्लोराइट भएको सरसफाई उत्पादन प्रयोग गर्न सकिन्छ।

बढी तापक्रम भएको स्थानमा कोरोनाभाइरस धेरै बाँच्न नसक्न बताइएको छ।

कोरोनाभाइरसको सम्बन्धमा प्रत्येक खोकीको थोपामा कतिवटा भाइरस हुन्छ भन्ने अध्ययन नभए पनि रुघाखोकीको भाइरस भने प्रत्येक थोपामा दशौँ हजारको सङ्ख्यामा हुन्छ।

लुगामा कति समय नयाँ कोरोनाभाइरस जीवित रहन्छ भन्ने स्पष्ट छैन।

बीबीसी नेपालीबाट

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *