Press "Enter" to skip to content

सुनौली नाकामा थप कडाइ

भैरहवा — छिमेकी मुलुक भारतका विभिन्न स्थानमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न थालेपछि सुनौली नाका हुँदै नेपाल आउने यात्रुमाथि दशगजा सिमानामा हुने कडाइ गरिएको छ ।

कोभिड–१९ संक्रमणको जोखिम कम गर्न जिल्लास्थित नेपालसँगका चारवटा नाकाबाटमात्रै आवतजावत गर्न दिने भारत सरकारको निर्णयसँगै सुनौली नाकामा दुवैतर्फ स्वास्थ्य चेक कडा पारिएको हो । भारतले आवतजावत खुल्ला राख्ने निर्णय गरेका चारवटा नाकामध्ये सुनौली–भैरहवा नाका पनि एक हो।

भारतबाट नेपाल आउने यात्रु र मालवाहक गाडीका चालकलाई दशगजा सिमानामा स्थापना गरिएको स्वास्थ्य सहायता केन्द्रमा डिजिटल थर्मोमिटरबाट तापक्रम मापन गरी कोरोना संक्रमणको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्ने गरिएको छ। यात्रुको अत्यधिक चाप हुने कारणले व्यवस्थित र जाँच प्रक्रियालाई प्रभावकारी बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्वास्थ्यकर्मी र स्थानीय स्वयंसेवकका समूह खटिएका छन्।

सहायता केन्द्रमा प्रारम्भिक तहको स्वास्थ्य परिक्षणको साथमा स्यानेटाइजरको प्रयोग गराएर कोरोनासम्बन्धी जनचेतनामूलक सामग्री उपलब्ध गराउने गरिएको छ। परीक्षणका क्रममा कुनै यात्रु शंकास्पद फेला परेमा आइसोलेसनमा उपचारका लागि पठाइने गरिएको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सीमा नाकामा स्वास्थ्य चेकजाँच प्रक्रियालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी र जनशक्तिको कमी हुन नदिइने बताए। उनका अनुसार, जिल्लामा रहेका मेडिकल कलेज र अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई समेत पालो मिलाएर खटाउने व्यवस्था मिलाइएको छ। ‘सीमावर्ती क्षेत्रमा लाग्ने गरेको हाटबजार रोक्नका लागि पनि सीमावर्ती भारतीय समकक्षीसँग छलफल गरिएको छ,’ प्रजिअ पन्थले भने, ‘भारतसँगको लामो खुल्ला सिमानामा पनि निगरानी राखेर जताततैबाट हुने आवतजावतमा कडाइ गर्ने छौं।’

भैरहवा सुनौली नाकाबाट नेपाल भारत आवतजावत गर्ने यात्रुको चाप दिउँसोमा घट्न थालेको छ। साँझ बिहानमा भने भारतको टाढा टाढादेखि घर फर्केका नेपालीको भीड लाग्ने गरेको छ। कक्षमा रहेको तथ्याकं अनुसार, यतिबेला भारतबाट प्रतिदिन १६ देखि १८ हजार जति यात्रु नेपालतर्फ आउने गरेका छन्। भारतको नौतनवा र सुनौलीमा सामान किनमेलका लागि जाने नेपालीको संख्या भने ह्वात्तै घटेको छ । भारतमा अध्ययनरत नेपाली विद्यार्थी र रोजगारीमा रहेका नेपाली फर्किने क्रममा छन् ।

भारतीय पक्षबाट पनि नेपाल हुँदै भारततर्फ जाने यात्रुमाथि दशगजा सिमानामैं स्वास्थ्य शिविर सञ्चा‍लन गरी पारम्भिक तहको स्वास्थ्य परीक्षणपश्चात् मात्रै जान दिने गरिएको छ।

कोभिड–१९ संक्रमणको जोखिम कम गर्न सिमानामा दुवैतर्फ स्वास्थ्य चेकजाँचलाई कडा पारिए पनि नाकाबाट हुने आवागमन र भन्सार हुँदै हुने ढुवानी प्रकृयामा कुनै कठिनाइ छैन। यात्रुको आवागमन र आयात निर्यात सहज ढंगले सुचारु छ।

भैरहवा भन्सार कार्यालयका अधिकृत तथा सूचना अधिकारी पूर्णप्रसाद लम्सालले भारतबाट आयात हुने औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, उपकरण र व्यापारिक वस्तुको आयातमा कुनै कमी नआएको बताए।

उनका अनुसार, खाद्यान्न, पेट्रोलियम पदार्थ, ग्यास, औषधी र औषधीको कच्चा पदार्थ, मेशिनरी उपकरण, अन्य व्यापारिक प्रयोजनका वस्तु पहिलाकै तुलानामा आयात भइरहेको छ। दैनिक सरदर साढे ३ सय मालवाहक गाडी र फलफूल तथा तरकारी ढुवानी गर्ने साना गाडी १ सयको हाराहारीमा नेपाल भित्रिइरहेका छन्।